

कञ्चनपुर– महाकाली सन्धिमा उल्लेख भए अनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गर्नुभएको हो ।




नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजना अन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३/०६४ बाट सुरु गरे पनि पानी ल्याउन महाकाली नदीसम्म पुग्ने १ हजार २ सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने भएकाले भारतीय पक्षले बेवास्ता गर्दा आयोजना सुस्त गतिमा अगाडि बढेको थियो । २ वर्षअघि तत्कालीन ऊर्जा सचिव दिनेश कुमार घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौता अनुसार बनाउनु पर्ने नहर निर्माण गरेको छ ।

नेपालले पनि तीव्र गतिमा काम अगाडि बढाएको र योजना तोकिएकै समयमा पूरा हुने सिनियर डिभिजन इन्जिनियर शम्भुराज पण्डितले बताए । उनले भने, ‘१५१ किलोमिटर निर्माण हुने नहरको हामीले अहिलेसम्म १६ प्रतिशत काम पूरा गरिसकेका छौँ ।’ मूल नहरसँगै २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
अहिले भारतले आफ्नो क्षेत्रमा बनेको नहर परीक्षण गरिरहेको छ । भारतले नहरमा पानी भर्ने र खाली गर्ने काम गरिरहेको छ । मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ । २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ । २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । शाखा नहर निर्माणका लागि आठ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ । सरकारले दुई वर्षअघि सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो । यो नहरबाट कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्बाससम्मै सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।

