बाजुरामा स्तगित निर्वाचनको चुनाव असार पहिलो साताभित्र गर्ने तयारी




बाजुरा, २९ जेठ– बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ । बैशाख ३० मा हुनपर्न निर्वाचन दलहरु विच विवाद हुदा स्तगित गरिएको थियो ।



बैशाखमा घोषणा भएको स्थानिय निकायको निर्वाचन देशभर सम्पन्न भई सकेको छ तर बुढीगंगा नगरपालिकामा भने अझै निर्वाचन हुन सकेको छैन । केही दिनअघि मात्रै राजनीतिक दलहरुबीच असार पहिलो साताभित्रमा नै निर्वाचन गराउने भन्ने विषयमा समझदारी भएको छ । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति घोषणा गरिसकेको छैन ।


बाजुराको बुढीगंगा नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनका क्रममा सुरक्षा कमजोरी भएर मतदान प्रभावित भएको भन्दै निर्वाचन आयोगले त्यहाँ पुनः निर्वाचन गर्ने निणर्य गरेको थियो । ३० गते मतदानको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडपको स्थिति सिर्जना भएको थियो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सुरक्षाका हिसाबले सम्पूणर् तयारी गरिसकेको बताएका छन् । ‘दलहरु पनि असार पहिलो साताभित्रमा चुनाव गर्ने विषयमा सहमत भइसकेका छन्,’ उनले भने, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब जेठ भित्रमा नै मिति घोषणा गर्ने गरी तयारी गरिरहेको छ ।’ जेठभित्रमा जसरी पनि मिती घोषणा गरेर असारको पहिलो साता भित्रमा चुनाव गराउने विषयमा आवश्यक तयारी भइरहेको उनले बताए ।