

धनगढी, २२ जेठ- कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा (एमाले) सँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णयबाट माओवादी केन्द्र पछि हटेको छ । तीन दिनपछि माओवादीले पुनः सत्ता गठबन्धनमै रहने निर्णय गर्दै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्ने निर्णय गरेको हो ।



माओवादी केन्द्रले १९ जेठमा नागरिक उन्मुक्ति पार्टी र एमालेसँग सहकार्य गरेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो तर शनिबार भने माओवादी केन्द्र गठबन्धनतिर लागेको छ । गौरीगंगा नगरपालिकामा बसेको सत्तारुढ गठबन्धनका नेताहरूको बैठकले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।


सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने भएको छ भने एकीकृत समाजवादी पार्टीले तीनजना सदस्य पाउनेछ । अन्य सदस्यमा कांग्रेस र माओवादीबीच भागबण्डा हुनेछ ।‘लामो छलफलपछि गरिएको सहमति माओवादीले तोडेको छ । राजनीतिक रुपमा यो राम्रो कुरा होइन’ एमाले कैलालीका सचिव डेजी पाण्डले भने, ‘स्थानीय चुनावमा कांग्रेसबाट धोका पाएको माओवादीले अब पनि धोका पाउँदैन भन्ने कुरा ग्यारेन्टी छैन।’
यसअघि नागरिक उन्मुक्ति पार्टीले जिल्ला समन्वय समितिको प्रमुख, एमालेले उपप्रमुखसहित केही सदस्य र माओवादी केन्द्रले चार सदस्य लिने गरी तीनवटै दलका नेताहरुबीच सहमति भएको थियो ।एमाले र नागरिक उन्मुक्ति पार्टीले माओवादी केन्द्रले लामो छलफलपछि भएको सहमति उल्टाउनुलाई राजनीतिक संस्कार नभएको रुपमा टिप्पणी गरेका छन् ।जिल्ला समन्वय समिति गठन गर्दा बहुमतका लागि १४ जना आवश्यक पर्छन ।

