गाउँ बस्तीका बासिन्दा चुनाव सकेर यार्चागुम्बा टिप्न लेकतिर

बझाङ, १६ जेठ– सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लामा भने यार्चागुम्बा संकलनका लागि भन्दै दर्जनौ विद्यालय बन्द गरिएका छन् । विद्यार्थीहरू नै यार्चागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालयहरू असार मसान्त सम्मका लागि बन्द भएका छन् । वैशाखको पहिलो साता नै यार्चागुम्बा टिप्न हिमाली पाटनतिर पुगिसक्ने संकलकहरू यसपाला भने जेठको पहिलो साता कटेपछि मात्रै उक्लिन थालेका छन् ।

जिल्लाको उत्तरी भेगका सुर्मा, दौलीचौर, काँडा, दातोला, मेलविसौना, रिलु, दहबगरका करिब ३५ वटा विद्यालय र बझाङ सदरमुकाम चैनपुरको मयाना, धमेना, भामचौर लगायतका ५० भन्दा बढी विद्यालय पूणर् रूपमा बन्द भएका छन् । कतिपय संकलकहरू भने चुनावअघि नै बन्दोवस्तका सामान बोकेर पाटन पुगेका थिए । मतदान गर्नकै लागि फर्केका उनीहरू पनि आफ्ना जनप्रतिनिधि चुनीवपछि फेरि उक्लिन थालिसकेका छन् ।

Navadurga sun
Godawari sandesh

अधिकांश संकलकहरू स-परिवार लेकतिर लागेपछि उत्तरी क्षेत्रका गाउँहरू सुनसान हुन थालेका छन् । ‘भोट हाल्नुपर्ने भएर मात्रै रोकिएका हौं, नभए आजसम्म तीन/चार लाखको कीरा टिपिसक्थ्यौं,’ साइपाल गाउँपालिकाकी जोग्यानी बोहराले भनिन, ‘नेता पनि चुनिसक्यौं । अब दुई महिना लेकतिरै बस्छौं ।’

Dadeldhura hospital

अन्य समयमा तीन महिना पाटनमै बस्ने यहाँका वासिन्दा यो वर्ष चुनावको कारणले एक महिनापछि मात्रै पाटनतिर लागेका हुन्। साइपाल गाउँपालिकाको कुमइचौकाका होटल व्यवसायी जंगबहादुर धामीले निर्वाचितको विजयउत्सव सकिएलगत्तै यार्चागुम्बा संकलकहरू पाटनतिर हिँडिसकेको बताए ।

यस वर्ष धनगढी, महेन्द्रनगर, काठमाडौं लगायतका ठाउँमा काम विशेष र अध्ययनका लागि गएकाहरू पनि मतदानका लागि गाउँ आएको बेला यार्चागुम्बा टिप्न लेकतर्फ उक्लिन थालेका छन् । सुर्माका भीम बोहराले अल्पकालीन रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू यार्चागुम्बा टिप्न आएका देखिएको बताए । ‘धेरैजसो लेक उक्लिसके,’ साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले भने, – बाँकी रहेका केही परिवार पनि आजभोलि नै जाने तयारीमा छन् । अब दुई/चार दिनमा सबै गाउँ खाली भइसक्छन् ।’

यार्चागुम्बा संकलन क्षेत्रमा जानेहरूबाट स्थानीय तहले प्रवेश शुल्कबापत राजस्व संकलन गर्ने तयारी गरिरहेका छन् । साइपालले यार्चा संकलक आफ्नै गाउँपालिकाका भए २ सय ५०, छिमेकी स्थानीय तहका भए ३ सय ५०, जिल्लाभित्रका अन्यका लागि ५ सय र जिल्ला बाहिरका भएको हकमा जनही १ हजार रुपैयाँ राजस्व लिने निणर्य गरेको छ । पालिकाले यार्चा संकलन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि आवश्यक व्यवस्था गरिएको अध्यक्ष बोहराले बताए ।

यार्चागुम्बा बझाङ जिल्लाको अर्थतन्त्रको मेरुदण्डको रूपमा छ । बझाङबाट प्रत्येक वर्ष सरदर ३ सय किलो यार्चागुम्बा निकासी हुने गरेको डिभिजन वन कार्यालय बझाङको तथ्यांक छ । यार्चागुम्बाको बिक्रीबाट बझाङमा वार्षिक ६० करोड हाराहारी रकम भित्रिने गरेको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

Loading...