टीकापुर घटनाबारे सरकारसँग गम्भिर छलफल गर्ने, तोकिएकै समयमा निर्वाचन हुन्छः अध्यक्ष प्रचण्ड




धनगढी, ८ बैशाख– कैलालीको मसुरियामा आयोजित पार्टी ध्रुवीकरण तथा प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनाबारे सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका छन् । उक्त कार्यक्रममा बोल्दै टीकापुर घटनाले थारु समुदायमा ठूलो असर परेको भन्दै सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका छन् ।


‘मलाई थाहा छ टीकापुर घटनाले थारु समुदायमा निकै ठुलो असर परेको छ’ उनले भने, ‘मैले रेशमलाई भारतमा भेटेको थिए । रेशमलाई भेट्दा ठूलै विरोध भएको थियो । मैले रेशमलाई भेट्न किन नहुने ? म बाहिर पनि भेट्छु । हिजोमात्र मेरो सचिवालयले उहाँलाई भेटेर कुराकानी पनि गरेको थियो । उहाँको समस्या समाधान गर्न सरकारसँग एकदमै सिरियस भएर कुराकानी गर्ने बताएका छन् ।’



अध्यक्ष दाहालले सुदूरपश्चिमको राजनीतिक मात्र नभई आर्थिक र सामाजिक विकासमा पनि आफ्नो जोड रहेको बताए । यहाँको विश्व विद्यालयको कुरा होस् वा सुख्खा बन्दरगाहको कुरा होस् । जलविद्युतका आयोजनाहरु अघि बढाउने कुरा होस् । हाम्रै पालामा सबैभन्दा बढी काम भएको उनले बताए । देश शान्ति प्रक्रियामा आइसकेपछि म सबैभन्दा बढी यहि सुदूरपश्चिम प्रदेशमा बढी भ्रमण गरेको छु । यहाँको समग्र विकास नभएसम्म म शान्त भएर बस्दैन । मलाई सबैभन्दा बढी विकासको चिन्ता यतैको रहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।
त्यसैगरी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् ।
‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । अब त केही कन्फूज छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’
यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने र लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको समेत बताए ।