सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्रहरु




धनगढी, ८ बैशाख– प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका छन् ।


सुदूरपश्चिमका ८८ स्थानीय तहका १ हजार १३५ मतदानस्थलमा २ हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको छ ।


प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुख सहित ७३४ वडाध्यक्ष र २ हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल ३ हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन् । कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक ४ हजार बढी कर्मचारी खटिनेछन् । कञ्चनपुरका ९ पालिकाका ३४१ मतदान केन्द्रमा १ हजार ८०० बढी कर्मचारी खटिने भएका छन् ।
सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। जसमध्ये ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ तेस्रोलिङ्गी छन् ।
डोटीका ९ वटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन भईसकेको छ पुनः अर्को पटक निरीक्षणको तयारी छ ।
कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने हो सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए । डोटीमा पछिल्लो सयम राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् । चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठक लगायत कार्यक्रमलाई तीव्रता दिएका छन् ।
डोटीमा १ लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।