धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट हराएको मेशिन भेटियो




धनगढी, ३० चैत– धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट हराएको ११ लाख रुपैयाँको उपकरण भेटिएको छ । प्रयोगशालाका प्रमुख डा. नारायणप्रसाद घिमिरेले वाटर क्वालिटी टेस्टिङ मेशिन कार्यालयमा आइपुगेको पुष्टि गरेका छन् । तर उनले मेशिन कहाँबाट आएको हो ? भन्ने बताउन चाहेका छैनन् ।



कार्यालय प्रमुख घिमिरेले मेशिन प्रयोगशालामा भेटिएको नभएर बाहिरकै मान्छेले दिएर गएको बताएका छन् । तर कार्यालयमै आएर मेशिन बुझाउने मान्छेको विवरण दिन भने उनले अस्वीकार गरेका छन् ।


सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को पशुपन्छी तथा मत्स्य रोग सर्भेन्स रिर्पोटिङ कार्यक्रम अन्तर्गत ११ लाख १८ हजार रुपैयाँमा खरिद गरेर हस्तान्तरण गरेको वाटर क्वालिटी टेस्टिङ मेसिन खरिद गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई हस्तान्तरण गरेको थियो ।
मन्त्रालयले मोनोसोलु ट्रेडिङ कन्सर्नमार्फत ६ वटा मेसिन खरिद गरेर प्रयोगशालालाई हस्तान्तरण गरेकोमा वाटर क्वालिटी टेस्टिङ मेसिन गायब गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।