बाजुरामा म्यादी प्रहरीका लागि आवश्यकता भन्दा बढीले दरखास्त दिए




बाजुरा, १३ चैत- बाजुरामा आवश्यकता भन्दा बढीले म्यादी प्रहरीका लागि दरखास्त दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा आवश्यक भन्दा झण्डै तिन तिहाइ बेरोजगार युवाहरुले म्यादी प्रहरीका लागि दरखास्त दिएका हुन् ।


पढाई सकेर बेरोजजगार बसेका र कतिपय होटल व्यवसाय गर्दै आएका युवा युवती र महिलाहरुले म्यादी प्रहरीमा दरखास्त दिएका हुन् । ४० दिने म्यादीका लागि बेरोजगार बस्दै आएका सामान्य लेखपढ देखि स्नातक तहसम्म अध्ययन गरेका विद्यार्थीहरुले म्यादी प्रहरीमा भर्ना हुन आएका हुन् ।



जिल्ला प्रहरी कार्यालय बाजुरामा १ हजार ६४७ जनाले म्यादी प्रहरीका लागि आवेदन बुझाएको प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझाले बताएका छन् ।
म्यादी प्रहरीका लागि ६८७ जना जनशक्ति आवश्यक भएपनि १ हजार ६४७ जनाको दरखास्त परेको प्रहरी निरिक्षक तथा सूचना अधिकारी धनदेव साउँदले जानकारी दिएका छन् । उनका अनुसार ४ सय ४९ जना महिला र १ हजार १९८ जना पुरुषले आवदेन दिएका छन् ।
बेरोजगार बस्दै आएका बाजुराका युवाहरु रोजगारीका लागि भौतारिदै आएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुले विभिन्न आश्वासन बाडेका भएपनि कुनै रोजगारी नपाएपछि उनीहरु म्यादी प्रहरीमा भर्ना हुन आएको युवाहरुले बताएका छन् ।
म्यादी प्रहरीका लागि २० वर्षदेखि ५२ वर्षसम्मका आवेदन फारम भरेका छन् । बेरोजगार भएका उनीहरुले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनका लागि तीन दिनसम्म प्रहरी कार्यालयमा घुईचो लागेको थियो ।