निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशनको तयारी




काठमाडौँ, ११ चैत– निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगले अनुमान गरेको छ ।



मतदाता नामावलीमा रहेका मृतक, नागरिकता त्याग गरेका र दुई स्थानको मतदाता नामावलीमा नाम रहेकाहरुको नाम हटाइने भएकोले केही संख्या घट्ने प्रवक्ता पौडेलले बताए । दावी विरोध पूर्वको अवस्थामा मतदाता नामावलीमा करिब १ करोड ७७ लाख मतदाता रहेका छन् । आयोगले कूल मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मात्रामा मतपत्र प्रकाशन गर्ने तयारी गरेको छ ।


आयोगका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि २ करोडको संख्यामा मतपत्र छापिनेछ । मतपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगको भनाई छ । यसैबीच आयोगका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु देशका विभिन्न भागमा पुगेर निर्वाचन आचार संहिता सचेतना सम्बन्धी कार्यक्रममा सहभागी भइरहेका छन् । उनीहरुले सातै प्रदेशमा पुगेर राजनीतिक दल तथा सरकारी कर्मचारीहरुका बिचमा सो कार्यक्रम गरिरहेका हुन् ।