सुदूरपश्चिममा सिकलसेल एनिमियाका बिरामीको पहिचानमै चुनौती देखिदै

धनगढी, ४ चैत– सुदूरपश्चिममा सिकलसेल एनिमियाका बिरामीको पहिचानमै चुनौती देखिएको छ । कैलाली र कञ्चनपुरमा बसोवास गर्ने थारु समुदायमा सिकलसेल एनिमिया पहिचानमै चुनौती देखिएको हो । दुर्गम गाउँका नागरिकलाई यस विषयमा ज्ञान नहुँदा पहिचानमा समस्या भएको सिकलसेल नेपाल कैलालीका कार्यालय सहायक भीम कुस्मीले बताए ।

‘अधिकांश नागरिकलाई यसको अवस्थाबारे अझै जानकारी छैन,’ उनले भने, ‘सुरुवातमा यसको पहिचानमै ध्यान दिन आवश्यक छ ।’ औषधि उपचारमा पनि सरकार गम्भीर बन्नुपर्ने उनले बताए । अहिले सम्मको अध्ययन अनुसार सिकसेलको संक्रमण थारु समुदायमा बढी देखिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित डडेल्धुरामा पनि यसको संक्रमण देखिएको छ । रोगको पहिचान नै हुन नकक्दा एकातिर औषधि उपचारमा समस्या भइरहेको छ भने अर्कोतर्फ संक्रमणको अवस्था पनि एकिन हुन सकेको छैन । रोग निदान र उपचारका लागि केही प्रयास हुँदै आएको दाबी सरोकारवाला निकायको छ ।

सेती प्रादेशिक अस्पतालबाट मात्र हाल ७ सय ४४ जना बिरामीले उपचार सेवा लिदै आएको अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशीले बताए । ‘यसको पहिचान गर्न हामीले अनुसन्धान गर्दै आएका छौ,’ उनले भने, ‘कैलाली कञ्चनपुरका विभिन्न स्थानीय तहमा हामी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौ ।’ कैलाली–कञ्चनपुरमा सिकलसेल देखिएको सात वर्ष बढी भएको छ । प्रविधि तथा उपकरण अभावका कारण पनि यसको सहज उपचार हुन सकेको छैन । यसको विरामीमा रगतको अभाव बढी हुने गरेका कारण उपचार सहज नभएको हो । साथै नियमित औषधी सेवनले पनि आर्थिक भार बढ्ने हुँदा सरकारले ध्यान दिनुपर्ने देखिएको छ ।

अहिले सरकारले उपलब्ध गर्ने सेवा पनि प्रभावकारी रुपमा नपाएको गुनासो बिरामीहरुको छ। तर सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयका भेक्टरकन्ट्रोल निरीक्षक हेमराज जोशीले भने यो नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको बताए । ‘हामी सचेतना फैलाउने र यसको निदान गर्न गम्भीर छौ,’ उनले भने, ‘प्रदेश सरकारको बजेटमा विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।’ सिकलसेल एनिमिया थारु समुदायसँगै अन्य समुदायका नागरिकमा पनि देखिन थालेको एक अध्ययनले देखाएको छ ।

Loading...