कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणमा बमलाई राम बहादुरले सघाउने





अत्तरिया, १८ फागुन– नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयन गर्न बिहीबार मतदान हुँदै छ । पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत पुग्न नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।



कांग्रेसभित्रको शेखर कोइरालानिकट उम्मेदवार रामबहादुर कलेलले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी दोस्रो चरणमा बमलाई समर्थन गर्ने जानकारी दिएका हुन् । उनले आफ्ना मतदातालाइ अब सभापतिका उम्मेदवार प्रकाश बमलाई मत दिन आग्रह समेत गरे ।


पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा थिए । सोमबार सकिएको मतगणना अनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए । तर, कसैको पनि ५१ प्रतिशत मत पुगाउन सकेनन् ।
अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा बम पहिलो भएको हुँदा कलेल पक्षको समर्थनसँगै जित्न सहज हुने भएको छ । पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ५८६ मतदाता रहेकोमा दुई हजार ५८६ मत खसेको थियो । खसेकोमध्ये ४८ मत बदर भएको थियो ।



