गोदावरीका १७५ जनालाई लघु उद्यम कार्यक्रममा समेट्ने लक्ष्य छ : फोकल प्रसन भाट





अत्तरिया, १६ फागनु- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) मार्फत गोदावरी नगरपालिकाका १७५ जनालाई लघु उद्यमी बनाइदै छ । कार्यक्रम अन्तरगत हाल नगरपालिकामा बिभिन्न सीप तालिम संचालन भइरहेका छन ।


गत बर्ष देखि नगरपालिकामा कार्यक्रम संचालन भएपनि कोरोना महामारीका कारण कार्यक्रम बिचमै रोकिएको थियो । चालु आर्थिक बर्षमा भने गत बर्षका ९० जना र चालु आर्थिक बर्षमा ८५ गरी १७५ जनालाई लघु उद्यम विकास कार्यक्रममा समेट्ने लक्ष्य लिइएको गोदावरी नगरपालिकाका सूचना अधिकारी एवम कार्यक्रमका फोकल प्रसन शिवराज भाटले बताए ।


‘यो पुरानो कार्यक्रम हो । पहिला यो जिविस मार्फत संचालन हुन्थ्यो । त्यसपछि घरेलु मार्फत कार्यक्रम संचालित थियो’ उनले भने ‘गत बर्ष देखि भने यो कार्यक्रम स्थानीय तहमार्फत संचालनमा आएको हो ।’
कार्यक्रम सामाजिक परिचालन, उद्यमशील विकास तालिम, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, वित्तिय पहुच र बजारीकरण गरी ६ चरणमा संचालन गरिएको छ । कार्यक्रम अन्तरगत गत बर्ष उद्यमशील विकास तालिम सम्मका चरण सम्पन्न गरिएपनि कोरोना महामारीका कारण अन्य कार्यक्रम संचालन गर्न नसकिएको सूचना अधिकारी भाटले बताए ।
कार्यक्रमका लागि गत बर्ष २९ लाख बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक बर्षमा गत बर्षको कार्यक्रम संगै थप ८५ जनालाई उद्यमी बनाउनको लागि २८ लाख विनियोजन गरिएको छ । जसमा नगरपालिकाले थप ६ लाख थप विनियोजन गरेको छ ।

उक्त कार्यक्रम नगरपालिकाले गत बर्ष वडा नम्बर २ र ४ मा संचालन गरेको थियो भने यस बर्ष १ र ३ नम्बर वडामा कार्यक्रम संचालनमा छ । जसमा १४ वडा समूहका कार्यक्रम संचालन भएरहेको सूचना अधिकारी भाटले बताए ।
उद्यम विकास सहजकर्ता नरेश साउँदले कार्यक्रम अन्तरगत चप्पल बनाउने, सिलाई कटाई, तरकारी खेती, व्युटिपार्लर लगायतका तालिम संचालनमा रहेको बताए । उनले १८ जनालाई २ समुहमा चप्पल तालिम सम्पन्न भएको बताए ।
उनले कार्यक्रम अन्तरगत आइतबार गोदावरी नगरपालिका वडा नं. १ वनदेवी टोलका ९ जना महिलाहरुलाई ५ दिने चप्पल बनाउने तालिम सम्पन्न गरिएको बताए । कार्यक्रम अन्तरगत सहभागिलाई चप्पल बनाउने मेसिन पनि वितरण गरिएको थियो । सहजकर्ता साउँदले हाल नगरपालिकामा ३ समुहमा तरकारी खेती तालिम र ३ समूहमा सिलाइ कटाइ तालिम, २ समूहमा व्यटिपार्लर तालिम संचालमा रहेको बताए ।
उद्यम विकास सहजकर्ता दिपेन्द्र ओलीले तालिममा सहभागि छनोटका लागि सुरुमा नगर स्तरीय उद्यम विकास समितिले कार्यक्रम छनोटका लागि वडा छनोट गर्ने बताए । उद्यम विकास समिति नगरप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था छ ।
उद्यम विकास समितिले वडा छानेपछि वडाका जनप्रतिनिधिले बस्ती छनोट गर्ने र त्यसपछि बस्तीमा सहभागिताको ग्रामिण लेखाजोखा गरिने उद्यम विकास सहजकर्ता ओलीले बताए । उनले छनोट गरेका व्यक्तिहरुलाई ८ दिनको उद्यम विकास तालिम दिएर त्यसपछि सहभागिले छानेको व्ययसाय सम्बन्धि सीप विकास तालिम दिने बताए ।
‘सीप विकास तालिम दिएपछि पनि हामीले उनीहरुले त्यो तालिमको सदुपयोग गराउनको लागि प्रविधि हस्तान्तरण गराउन्छौ’ उनले भने ‘उनीहरुले उक्त व्यवसायलाई बढाउन सकुन भनेर विक्तिय श्रोत जुटाउन सहयोग र उत्पादित बस्तुलाई बजारीकरण गर्न कार्यक्रम मार्फत सहयोग गर्छौ । यसरी उद्यमी सिर्जना हुन्छ ।’ नगरपालिका मार्फत संचालित उक्त कार्यक्रमका लागि हाल २ जना उद्यमशिल विकास सहजकर्ता परिचालन समेत गरिएको छ।



