कञ्चनपुरमा फागुन १४ गतेदेखि सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता हुने




कञ्चनपुर, ९ फागुन– कञ्चनपुरमा सर्वाधिक धनराशिको कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा यही फागुन १४ गतेदेखि चैत ५ गतेसम्म “फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२“ प्रतियोगिताको आयोजना हुन लागेको हो ।



सुदूरपश्चिमका कर्पोरेट कार्यालयहरूलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक भोजराज जोशीले जानकारी दिए ।


कोरोना संक्रमणको महामारीका कारण खेलका गतिविधि अवरुद्ध भएको अवस्थामा खेलकुदलाई चलायमान बनाउन प्रतियोगिता सञ्चालन गर्न लागेको संयोजक जोशीले बताए । महेन्द्रनगरको खुलामञ्च तथा कबर्डहलमा आयोजना हुने प्रतियोगितामा कञ्चनपुर र कैलालीबाट २० टिमलाई सहभागी गराउने लक्ष्य लिएको स्टार प्रोडक्सनका अध्यक्ष अक्षत पाण्डेयले बताएका छन् । प्रतियोगिताको विजयी टिमलाई नगद रु. १ लाख ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु. ५५ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
त्यसैगरी प्रतियोगिताको म्यान अफ दि सिरिजलाई नगद रु. ५ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याट्स्म्यानलाई नगद ३ हजार ५ सय रुपैया सहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका बेस्ट बलरलाई नगद रु. ३ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याच विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।



