डडेल्धुरामा स्थानीय तहको निर्वाचनका लागि ६ हजार २ सय ६९ मतदाता संख्या थपिए




डडेल्धुरा, ६ फागुन- डडेल्धुरामा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत ९४ हजार ३ सय १४ को नाम दर्ता भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा छैठौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो।


२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना रहेको थियो। पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार २ सय ६९ मतदाता संख्या थपिएको हो।



जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरू गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए। जिल्लाको अमरगढी नगरपालिकामा १४ हजार ८ सय २, परशुराम नगरपालिकामा २२ हजार ३ सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए।
उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार २ सय ६३, आलिताल गाउँपालिकामा ११ हजार २ सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार ९ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा ९ हजार ८ जना मतदाता रहेका छन्।
जिल्ला सदरमुकाममा शुक्रबार डडेल्धुरामा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो। सरकारले स्थानीय तहको चुनाव बैशाख ३० गते तोकेसँगै जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले पनि सक्रियता बढाएको छ। कार्यक्रममा बोल्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्वाचन सम्पन्न गराउन सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहने बताएका छन्।



