बैतडीमा ९ मतदानस्थल थपिए

बैतडी, ४ फागुन– बैतडीमा ९ मतदानस्थल थपिएका छन् । जिल्लाको पाटन, मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा गरि ९ मतदानस्थल थपिएका हुन् ।

मतदाता संख्या बढी भएको र भौगौलिक रुपमा टाढा रहेका ठाउँमा नयाँ मतदानस्थल थपिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए । जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिकामा २/२ र मेलौली नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा १/१ मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सिगास-६ को नौला आधारभूत विद्यालय बत्थी, सिगास-९ को निरपाल आधारभूत विद्यालय चुवा, पुर्चौंडी-२ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चौडी-१० को गलेश्वर मावि कटपते, डिलाशैनी-५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी-७ को डिलाशैनी मावि खेतीगाउँमा मतदानस्थल थपिएका हुन् ।

त्यस्तै पाटन-१ को भुवनेश्वर मावि लदौली र पञ्चेश्वर-६ को आम्पुर मावि बिजुल, मेलौली-७ मा मणिलेक मावि केशरपुर पनि नयाँ मतदानस्थलका रुपमा थपिएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप्ने निणर्यसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।

त्यसैगरी जिल्लाका दुई वटा मतदानस्थल सार्ने निणर्य पनि भएको छ । दोगडाकेदार गाउँपालिका-४ को हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थल पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीको मणिलेक माविको मतदानस्थल सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिश गरिएको हो ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनका वेला १ सय २० मतदानस्थल रहेकामा अब ९ वटा थपिएर १ सय २९ मतदानस्थल पुगेका छन् । बैतडीमा १ लाख ५० हजार भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनको आन्तरिक तयारी समेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Loading...