आइतबार सुदूरपश्चिममा १८४ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु





धनगढी, २ माघ– आइतबार सुदूरपश्चिम प्रदेशमा १८४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १ हजार ४८७ जनाको परीक्षण गरिएको १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।



स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआर मार्फत र १७७ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका ७२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।


सुदूरपश्चिमका नाका भएर आइतबार १ हजार ६९७ नेपाली स्वदेश फर्केका छन् । भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ । त्यस्तै पछिल्लो २४ घण्टामा बाजुराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं.२ का ५२ वर्षीय पुरुषको होम आइसेलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



