पर्यटनमन्त्री आलेले गरे मझगाउँ विमानस्थलको शिलान्यास

अत्तरिया, २८ पुस- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कन्चनपुरस्थित मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन्। विमानस्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले बुधबार शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलेले विमानस्थलको रनवे २५ सय मिटर बनाउनु पर्ने उद्घोष गरे। ‘अहिले १५ सय मिटर रनवे बन्दै छ। यसले मात्रै पुग्दैन,’ उनले भने, ‘कम्तीमा पनि २५ सय मिटर बनाउनु पर्छ, हामी त्यो गर्छौं।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

विमानस्थल बनेमा यहाँको पर्यटन व्यवसाय पनि उकासिने उनको विश्वास छ। भारतको दिल्लीबाट सिधै जहाज मझगाउँ विमानस्थलमा ल्याउन सकिने उनको भनाइ थियो। ‘यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, हामी भारतबाट पर्यटकलाई भित्र्याउन सक्छौँ,’ उनले भने, ‘दिल्लीबाट सिधै न्यारोबडी प्लेन यहाँ ल्यान्ड गराउन सक्छौँ।’

असुरक्षाको कारण देखाउँदै विस २०५६ सालमा बन्द भएको विमानस्थल शिलान्यास भएसँगै पुनः सञ्चालनमा आउनेमा स्थानीय आशावादी देखिएका छन्।

मझगाउँ विमानस्थलमा १५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण हुनेछन्। नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौतासमेत गरेको छ। निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ।

विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ। विमानस्थल सञ्चालन भएमा समग्र देशकै विकासमा टेवा पुग्ने उद्योग वाणिञ्ज संघका अध्यक्ष जंगबहादुर मल्लले बताए ।

Loading...