कैलालीमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते




अत्तरिया, १८ पुस– कैलालीमा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ चौकिडाँडामा स्कारपियो दुर्घटना भएको हो । उक्त दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।



स्कारपियोमा सवार ३ जना र अटोमा सवार ३ जना गरी ६ जना घाइते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए ।


प्रहरीका अनुसार चौकीडाँडाको मालिका टोल नजिकै भारतीय नम्बर प्लेटको स्कारपियोले अटोरिक्सालाई ठक्कर दिएको थियो । महेन्द्रनगरबाट पूर्वतिर गईरहेको स्कारपियोले चौकिडाँडाँबाट अत्तरियातर्फ अटोलाइ ठक्कर दिएको हो । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।



