सुदूरपश्चिम प्रदेशमा पर्यटन बोर्डको स्थापना





धनगढी, ५ पुस– धनगढीमा नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरेका हुन् । पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो ।


यसअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो । कार्यालय नहुँदा बोर्डले गर्ने पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सुदूरपश्चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए। क्षेत्रीय कार्यालयले पर्यटकीय क्षेत्रबारे सूचना दिने, प्रचारप्रसार गर्ने लगायत काम गर्ने बोर्डका प्रबन्धक सूर्य थपलियाले बताए । बोर्डको कार्यालय स्थापनासँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ ।



मन्त्री आलेले बोर्डको कार्यालयमा पर्यटकीयस्थलको तस्बिर र पर्यटकलाई दिन सकिने आवश्यक सूचना राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । सुदूरपश्चिममा पर्यटन विकासका लागि बोर्डको कार्यालय स्थापना गरिएको समेत उनले बताए । तत्कालका लागि बोर्डमा एक प्रबन्धक र अधिकृतस्तरको कर्मचारी खटाइएको र आवश्यकता अनुसार बजेट र कर्मचारीको व्यवस्था गरिने मन्त्री आलेले जानकारी दिए ।
धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नतिको कार्य अगाडि बढेको पनि मन्त्री आलेले बताए । उनले स्तरोन्नतिका लागि एक हप्ताभित्रै एक अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । एक हजार आठ सय मिटर लामो विमानस्थलको धावनमार्ग बढाएर दुई हजार पाँच सय मिटर बनाइने मन्त्री आलले बताए ।
त्यस्तै पर्यटन व्यवसायी सञ्जय चौधरीले पर्यटन बोर्डको कार्यालयले पर्यटन सूचना केन्द्र राख्ने र त्यसले पर्यटन विकासमा टेवा पुग्ने बताए । उनले पर्यटन सम्बन्धी पहिले केन्द्रबाट हुने सबै कामहरु अब प्रदेशमै हुने उल्लेख गरे । यहाँ बोर्डको कार्यालय खुल्नु हामी सबैका लागि सुखद कुरा भएको र यसले पर्यटन विकासमा टेवा समेत पुग्ने चौधरीले बताए ।
बोर्डको कार्यालय उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी सहित पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।



