धनगढीका रिक्सा चालक जोरबिजोरको विरोधमा आन्दोलनमा उत्रिए





धनगढी, ४ पुस– जोरबिजोर प्रणाली लागू भएपछि धनगढीका अटो रिक्सा चालकले आन्दोलन थालेका छन् । पुस १ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा अटो रिक्सा सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएपछि चालक आन्दोलनमा उत्रिएका हुन् ।


रिक्सा चालकले धनगढीमा प्रदर्शन गर्दै उपमहानगरपालिका पनि घेराउ गरेका छन् । उनीहरुले जोरबिजोर प्रणालीले आफूहरुलाई दैनिकी चलाउन मुस्किल हुने बताएका छन् । आफुहरु दिनभर अटो चलाएर छाक टार्ने गरेका छौं, एकदिन पनि अटो नचलाउदा समस्या हुन जाने अटो चालक इन्द्र चौधरीले बताए । उनले जोरबिजोर प्रणाली तत्काल खारेज गर्नुपर्ने समेत बताए ।



आवश्यकता भन्दा बढी अटो रिक्सा चल्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको र दुर्घटनाको जोखिम बढेको भन्दै १ पुसदेखि जोरबिजोर लागू गरिएको थियो । ट्राफिक प्रहरीले मुख्य सडकमा भने जोरबिजोर लगाइएको बताएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सिँहले अटो रिक्सा चालकले निषेधाज्ञाको समय जस्तो जोरबिजोर बुझेकाले बिरोध गरेको बताए । ‘निषेधाज्ञाको समय जस्तो सबै क्षेत्रमा जोरबिजोर भन्ने रिक्सा चालकमा बुझाई छ,’ उनले भने, ‘तर त्यस्तो होइन् । धनगढीको मुख्य सडकमा मात्र यो प्रणाली लागू गरेका हौं । अन्य शाखा सडकहरुमा सबै नम्बरका रिक्सा दैनिक सञ्चालन गर्न सकिन्छ ।’
यातायात व्यवस्था कार्यालय धनगढी र धनगढी उपमहानगरपालिकाले दार्ता गरेका झण्डै १० हजार रिक्सा धनगढीमा सञ्चालनमा रहेको अनुमाग गरिन्छ । साँघुरो सडकमा धेरै रिक्सा सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापन समेत मुस्किल भएको छ ।



