फूलवारीका मनिषप्रताप क्यान्सरसँग लड्दै, उपचारका लागि आर्थिक अभाव सहयाेग गर्न अपिल

धनगढी, २९ मंसिर– धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २७ वर्षीय मनिषप्रताप सेन सुनौलो भविष्यको सपना बुन्दै २०७४ सालमा वैदेशिक रोजगारीको लागि युरोपेली देश माल्टा गए। परिवारको सुखद भविष्यको योजना साकार पर्ने सपना बोकेर माल्टा पुगेका मनिषप्रतापले घरजग्गा धितो राखेर बैंकबाट कर्जा लिएका थिए। तर युरोप पुगेका मनिषप्रतापको खुसी धेरै दिन टिक्न पाएन।

माल्टा गएको २ वर्ष नपुग्दै मनिषप्रताप र उनको परिवारमा भुइँचालो आयो। त्यो भुइँचालो थियो, उनको स्वास्थ्यमा देखिएको समस्या। माल्टा पुगेर परिवारलाई लागेको ऋणको भारी उतार्न नपाउँदै मनिषप्रताप ठूलो आन्द्राको क्यान्सरका कारण काम गर्न नसक्ने भए। त्यसपछि उनलाई स्वदेशमै उपचार गराउने भनेर परिवारले काठमाडौं बोलायो।

Navadurga sun
Godawari sandesh

काठमाडौंको भक्तपुर क्यान्सर अस्पतालमा डेढ वर्षसम्म उपचार गराएर पनि क्यान्सर निको नभएपछि मनिषप्रतापलाई अहिले भारतको नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पतालमा भर्ना गरिएको छ। काठमाडौंमा डेढ वर्षसम्म उपचार गराउँदा अहिलेसम्म ६१ लाख खर्च भइसकेको उनका मामा पूर्णबहादुर पौडेलले बताए।

Dadeldhura hospital

उपचारकै क्रममा मनिषप्रतापको परिवारले पाँच कट्ठा जग्गा बिक्री गरिसकेको छ। अहिले दिल्लीमा क्यान्सरको उपचार गराउँदा हप्तामै डेढ लाख भारतीय रुपैयाँ खर्च भइरहेको परिवारले बताएको छ। दिल्लीमा उपचार गराउँदा निको हुने सम्भावना रहेको चिकित्सकले बताए पनि उपचार गराउन भने आर्थिक समस्या भएको परिवारले जनाएको छ।

४ जनाको परिवारमा मनिषप्रताप परिवारकै एक्लो सन्तान हुन्। तीन वर्ष अगाडि मात्रै उनी प्रमिला कार्कीसँग विवाह बन्धनमा बाँधिएका थिए। उनका बुवाआमा एक मात्र छोरा क्यान्सरका कारण थला परेको हेर्न बाध्य भएका छन्। ४६ वर्षीय सुरेन्द्रप्रताप र देवीप्रताप सेन छोराको स्वास्थ्यमा आएको समस्याको कारण निकै मर्माहत भएका छन्।

बस चालक रहेका सुरेन्द्रप्रताप छोराको उपचारमा लाग्नुपर्ने भएर काम गर्न नसक्ने हुँदा परिवारले थप आर्थिक क्षति बेहर्नुपरेको छिमेकीसमेत रहेका सुनिल सुवेदीले बताए। कमाउने परिवारको एकमात्र सदस्य बिरामीले थला परेको तथा उपचार गराउँदा ६१ लाखभन्दा बढी ऋण परेको तथ्य छिमेकीहरुले थाहा पाएपछि अहिले मनिषका मामा पूर्णबहादुर पौडेल, स्थानीय समाजसेवीहरु सुनिल सुवेदी, नामदेव गैरे र विकास पुन मगरसहितका छिमेकीहरुको अगुवाइमा मनिषप्रताप सेन बचाऊ अभियान सुरु गरिएको छ। फूलबारी क्षेत्रका स्थानीयहरुसँग सक्दो आर्थिक सहयोगको लागि उनीहरुले अपिल गरिरहेको बताए।

मनिषप्रताप आफूले पढाएको मान्छे हो, परेको बेला सहयोग गर्नुपर्छ भनेर आफूहरु आर्थिक सहयोग जुटाउन तयार भएको सुनिल सुवेदीले बताए। छिमेकमा परेको बेला सहयोग गर्नु नै उत्तम हो भनेर आपसमा सल्लाह गरेर आर्थिक सहयोग जुटाउने प्रयास थालेको नामदेव गैरेले बताए।

मनिषप्रताप सेन बचाऊ अभियान अन्तर्गत सहयोग गर्न चाहनेहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोग गर्न सक्ने बताइएको छ। धेरैले थोरै थोरै सहयोग गरे उपचारमा सहज हुने आफन्तले बताएका छन्। मनिषप्रताप सेनको उपचारका लागि सहयोग गर्न चाहने जोकसैले सुरेन्द्रप्रताप सेनको एनएमबी बैंकको फूलबारी शाखामा रहेको खाता नम्बर १९१०१५९११६९०००१२ मा आर्थिक सहयोग जम्मा गर्न सक्ने अभियानका संयोजक पूर्णबहादुर पौडेलले बताए।

Loading...