देउवाको गृहप्रदेशमा संस्थापन पक्षकै नेताबीच प्रतिस्पर्धा

अत्तरिया : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन (देउवा) समूह नै विभाजित भएको छ। प्रदेश अधिवेशनमा संस्थापन पक्षीय नेताहरुबीच नै प्रतिस्पर्धा हुने भएको छ।

सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताद्वय रमेश लेखक र एनपी साउदबीच नै प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धा हुने भएको हो। सभापति शेरबहादुर देउवाका ‘विश्वासपात्र’ मानिने नेताद्वय लेखक र साउद प्रदेशमा आफ्नो वर्चश्व बढाउन छुट्टा छुट्टै समूह चलाउँछन्। आफू निकट नेताहरुलाई नेतृत्वमा ल्याउन उनीहरु सक्रिय रहेका छन्। संस्थापन र संस्थापन इतर समूह नेतृत्व सर्वसम्मतिबाट टुंग्याउन छलफलमा जुटेका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

‘सर्वसम्मतिबाट नेतृत्व टुंग्याउन नेताहरुबीच छलफल भइरहेको छ, आकांक्षी बढी भएकोले सर्वसम्मत हुने सम्भावना कम छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यसो भएन भने चुनावी प्रक्रियाबाट नेतृत्व छानिन्छ।’ ती नेताका अनुसार प्रदेश सभापतिमा सर्वसम्मतिका पूर्वमन्त्री वीरबहादुर बलायरको नाम अगाडि सारिएको छ। सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षकै पाँच जना नेताले दाबी गरेका छन्। नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह, पूर्वराज्यमन्त्री अर्जुनजंग बहादुर सिंह, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पुष्प शाही र गोविन्द बोहराले आकांक्षा देखाएका हुन्। उनीहरु संस्थापन (देउवा) पक्षकै हुन्। देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन इतर समूह कमजोर छ।

Dadeldhura hospital

सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सकेन भने चुनावी मैदानमा संस्थापनका नेताद्वय रमेश लेखक र एनपी साउद निकट नेता नै उत्रिने गरी गृहकार्य भइरहेको कांग्रेस नेताहरु बताउँछन्। ‘संस्थापनमा अरु नेता भए पनि अन्तिममा रमेश र एनपी दाइबीच नै प्यानल बनाएर प्रतिस्पर्धा हुने देखिन्छ, उहाँहरु संस्थापन पक्षकै बलिया उम्मेदवारलाई आफूतिर तानेर गुट बलियो बनाइरहनु भएको छ’ कांग्रेसका एक नेताले भने, ‘उहाँहरु संस्थापन इतरका नेताहरुलाई पनि मिलाएर जान खोज्दै हुनुहुन्छ।’

प्यानल बनाएर चुनावी प्रक्रियामा गए पौडेल समूहका नेता दिलेन्द्र प्रसाद बडूले लेखकलाई साथ दिने समझदारी बनेको ती नेताको दाबी छ। सुदूरपश्चिममा देउवाको राम्रो प्रभाव छ। कांग्रेसमा देउवा पछिका प्रदेशका प्रभावशाली नेताको रुपमा लेखक र साउद नै छन्।

उनीहरुले प्रदेशमा आफ्नो प्रभाव जमाउन कसरत गरिरहेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र रहेका लेखकको जन्म घर बैतडी हो भने साउदको डडेल्धुरा हो।

विशेषगरी कम प्रभाव रहेका पहाडी जिल्लामा उनीहरू आफ्नो पकड बढाउन सक्रिय छन्। बिहीवारदेखि सुरु भएको कांग्रेसको प्रदेश अधिवेशनमा शुक्रबार (आज) मनोनयन दर्ता हुने कांग्रेस नेता नृप सुनारले बताए। उनका अनुसार सर्वसम्मतबाट नेतृत्व चयन भएन भने शनिबार मतदान गर्ने कार्यतालिका तय भएको छ।

Loading...