काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा
अत्तरिया, १० मंसिर– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत यही मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि रावलले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेसले यसअघि स्थानीय चुनावदेखि संघीय चुनावमा पराजित ब्यहोरेको र आगामी चुनावमा काग्रेसलाई एकलौटी जित दिलाउने उद्देश्यका साथ प्रदेश सभापतिका लागि उम्मेदवारी दिएको उनले बताए ।
नेता रावलले पार्टी सभापति शेरबहादुर देउवाकै प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताए । उनले सहमतिमा नेतृत्व छान्ने अवस्थामाबाहेक अन्य अवस्थामा उम्मेदवारी फिर्ता नहुने बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठोरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।