कैलालीमा ‘प्रथम घोडाघोडी कप-२०७८’ फुटबल प्रतियोगिता हुने

धनगढी, ९ मंसिर– कैलालीमा ‘नेपाल आइस प्रथम घोडाघोडी कप-२०७८’ फुटबल प्रतियोगिता हुने भएको छ । घोडाघोडी नगरपालिका वडा नं. ३ मा घोडाघोडी स्पोर्टस् क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जिल्लाको घोडाघोडी नगरपालिका ३ जुरपानी खेल मैदानमा प्रदेश स्तरीय खुला ‘नेपाल आइस घोडाघोडी कप-२०७८’ फुटबल आयोजना हुने घोडाघोडी स्पोर्टस् क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

प्रथम हुने टिमलाई १ लाख धन राशीको पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । जसको मुख्य प्रायोजकमा चौधरी ग्रुपको नेपाल आइस रहेको छ भने सह प्रायोजकमा कृषि बिकास बैंक लिमिटेड रहेको छ ।

क्लबले स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहनका साथै खेलाडीको पहिचान गराउने उद्देश्यले कपको आयोजना गरिएको जनाइएको छ । साथै घोडाघोडी नगरपालिका वडा नं. ३ जुरपानीमा निर्माण भइरहेको पार्कको प्रचार प्रसारको लागि जुरपानीमा खेल आयोजना हुने भएको छ । खेलमा ३० टिमको सहभागिता गराउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगिता यही मंसिर १५ गते देखि २२ गते सम्म हुने भएको छ ।

Loading...