कैलालीको अत्तरियामा महिला हिंसा सम्बन्धीको १६ दिने अभियान सुरु
महिला हिंसा न्युनिकरणका लागी काम गर्ने ८ जना सम्मानित
अत्तरिया, ९ मंसिर– कैलालीको अत्तरियामा महिला हिंसा सम्बन्धी १६ दिने अभियान सुरु भएको छ । ‘घरबाटै सुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिकाले अभियानको सुरुवात गरेको हो । बिहिबार एक औपचारीक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री दिर्घ सोडारीले अभियानको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री सोडारीले महिलाहरुले राज्यका विभिन्न निकायमा अगुवाई गरिसकेको बताए । संविधानले पनि महिलाहरुलाई राजनितिक क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रमा स्थान दिएको मन्त्री सोडारीले बताए । स्थानिय क्षेत्रमा महिला हिंसा सम्बन्धीका धेरै घटनाहरु भएको र त्यसको न्युनिकरणका लागी तथा अपराधीलाई कानुनी कारबाहीका लागी राज्यका निकायहरु तयार रहनुपर्ने बताए । महिलाहरुलाई समाजका विभिन्न क्षेत्रमा अगाडी बढाउनमा अभियानले सहयोग गर्नेमा आफु विश्वस्त भएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाले महिला हिंसा सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका लागी बजेट छुट्याएको बताएकी छन् । महिला हिंसा विभिन्न पराम्परागत प्रथाहरुले पनि हुने गरेकाले नगरपालिकाले निति मै राखेर त्यस्ता प्रथाको अन्त्यका लागी कार्यक्रम आयोजना गर्ने गरेको बताईन । उनले नगरपालिका भित्रका ५४ वटा विद्यालयका शिक्षक/शिक्षिका, सहकारी संस्था, समाजसेवी सबैलाई समेटेर अभियानको सुरुवात गरेको समेत बताईन ।

त्यस्तै पालिकामा रहेको न्यायिक समितिमा पनि महिला हिंसासम्बन्धीका घटनाहरु आउने गरेको उनले बताईन । ‘न्यायीक समिति सुरुवात हुँदा धेरै घटनाहरु भएपनि लुकेर बसेका हुन्थे बाहिर आउदैनथे’ उनले भनीन ‘तर अहिले थुप्रै ठाउँमा हामीलाई परेको समस्याका बारेमा बोल्नुपर्छ र न्यायीक समितिलाई जानकारी गराउनुपर्छ, समाधानको बाटो हामीले देख्छौ भनेर उहाँहरु आउनुहून्छ, त्यसले गर्दा विगत र अहिलेको अवस्थामा घटनाहरु कम भएको देखिन्छ भने कतिपयको हकमा स्थिति समान देखिन्छ ।’
प्रहरीको तथ्यांक अनुसार ईलाका प्रहरी कार्यालय मालाखेतीमा चालु आर्थिक वर्षको ५ महिनामा ३९ वटा लैंगिक हिंसा सम्बन्धी र ७० वटा घरेलु हिंसा सम्बन्धी ठाडो उजुरीहरु परेका छन । कार्यालयका ईन्स्पेक्टर उमेश चन्दले उक्त अवधीमा महिला संग सम्बन्धीत ५१ वटा मुद्दाहरु कार्यालयमा दर्ता भएको बताए । जसमध्ये ८ वटा बहुविवाह, १५ वटा जबरजस्तीकरणी, १७ वटा जबरजस्तीकरणी उद्योग, ६ वटा आत्महत्या र ५ वटा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाहरु रहेको उनले बताए ।
कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका, संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालिकाको महिला शाखा प्रमुख गोदावरी धामीले अभियानको बारेमा जानकारी दिनुका साथै १६ दिनसम्मको कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यपालिका सदस्य ईश्वरा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महिला विकाश निरिक्षक प्रेमा वडुले गरेकी थिईन ।
संयुक्त राष्ट्रसंघको महासभाले ७ फेब्रुअरी २००० मा यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो । त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।
महिला हिंसा न्युनिकरणका लागी काम गर्ने ८ जना सम्मानित :
कार्यक्रममा महिला हिंसा न्युनिकरणका लागी काम गर्ने विभिन्न क्षेत्रका ८ जना महिला तथा पुरुषलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा महिला स्वयमसेविका देवी ओझा, गणेश आधारभुत विद्यालयकी शिक्षिका बेलु बोहरा, दिदी बहिनि कृषक महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष दुर्गा शाह, टिभी टुडे टेलिभिजनकी पत्रकार करिस्मा सिँह, जिवनज्योती महिला विकाश बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सुमित्रा सोप, साना किसान कृषि सहकारी संस्था गेटाकी अध्यक्ष भगवती पाठक, समाजसेवी सावित्रा घिमिरे र लिला बास्कोटा रहेका छन ।