दार्चुलामा गणकलाई सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइयो
अत्तरिया, ९ मंसिर- दार्चुलाको छाङरू र तिंकरमा जनगणना गर्न गएका गणकहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ । जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र लोकेन्द्र टेर बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले जिल्ला सदरमुकाम खलंगा ल्याएको हो ।

तीन दिनमा त्यहाँको गणना सकेर उनीहरु खलंगा पुगेका हुन् । भारतले बाटो नदिएपछि जनगणना टोली आफ्नै भूमिबाट चार दिन जोखिमपूर्ण पैदल यात्रा गरी दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु पुगेको थिए । गत कात्तिक २५ गते देशभर जनगणना थालिएको थियो । तर दार्चुलाको व्याँस गाउँपालिका–१ का तिंकर र छाङरुमा भारतीय प्रशासनले जनगणना टोलीलाई त्यहाँ जान उसको भूमिमा पर्ने सहज सडक प्रयोगको अनुमति नदिँदा ढिलाइ भएको थियो ।
छाङरु र तिंकरबासी हिँउदका ६ महिना खलंगा झर्ने गर्छन् । छाङरुको गणना सम्पन्न भएको र तिकंरका बासिन्दा त्यहाँबाट बसाइ सरी खलङ्गा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने जनगणना अधिकारी खगेन्द्र कार्कीले बताए ।
तीन सदस्यीय जनगणना टोलीमा रहेका गणक बाटो कठिन हुनाले हिँड्न नसकेर दुम्लिङबाट सदरमुकाम खलंगा फर्केका थिए । जनगणना कार्यालय (दार्चुला) का सहायक जनगणना अधिकृत कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी लोकेन्द्र टेर छाङरु र तिंकरका लागि गएका थिए । गणक राजेन्द्र कार्की हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत, कार्यालय सहयोग मात्रै छाङरु गएका थिए । तिंकर र छाङरुमा १ सय १३ परिवारको बसोबास छ ।