कञ्चनपुरमा भारतबाट चोरी गरेर ल्याइएका गहना र लाखौँ नगद सहित २ जना पक्राउ
कञ्चनपुर, ३० कार्तिक– कञ्चनपुरमा भारतबाट चोरी गरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगद रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीको सूचनाका आधारमा कञ्चनपुरको बेलौरीका २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुन, गरगहना र नगदसहित बेलौरी नगरपालिका-१ पटैयाका लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए । बरामद गरिएको सामाग्रीको उनीहरूले भारतको ब्याङलोरबाट गरगहना, नगद र सुन चोरी गरेर नेपाल ल्याएका थिए ।
त्यहाँका एक जना व्यापारीका घरमा काम गर्ने बेलौरीका ती दुई जनाका बारेमा सशस्त्र प्रहरीलाई खबर आएको थियो । सशस्त्र प्रहरीकाले नेपाल प्रहरीलाई खबर भएपछि घरमै छापा मारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।