डोटी जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रभावित

डोटी, २६ कार्तिक– जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताए। उनले भने, “प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई-तीन दिन कुर्नुपर्ने अवस्था आएको छ।”

कर्मचारी पठाउन गृह मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि हालसम्म कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए। उनले भने, “तोकिएको दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ, कर्मचारी पठाउन पत्राचार गरेका छौँ, तर अहिलेसम्म पठाएका छैनन्, सेवाग्राहीलाई समस्या भयो।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पछिल्लो समय जिप्रकाबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ। कार्यालयमा प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ मात्र कार्यरत छन्। कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ।

कार्यालयमा महिनौँयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य भएको अर्का स्थानीयवासी दीर्घबहादुर केसीले जानकारी दिए। उनका अनुसार लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको र खाली हात घर फर्किनुपर्ने अवस्था आएको छ।

नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायबसुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी महिनौँदेखि खाली रहेको छ। प्रशासनमा अहिले नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड रहेको जनाइएको छ। (रासस)

Loading...