सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको धनगढी विमानस्थलमा स्वागत
अत्तरिया, २६ कार्तिक- सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशी लाई शुक्रवार धनगढी पुगेका छन् । प्रदेश प्रमुख जोशीलाई धनगढी विमानस्थलमा स्वागत गरिएको हो ।
प्रदेश प्रमुख भएपछि काठमाडौंबाट शुक्रवार विहान बुद्ध एयरको विमानबाट धनगढी विमानस्थल झरेसँगै स्वागत गरिएको थियो । प्रदेश प्रमुख जोशीलाई स्वागतका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री दिर्घ सोडारी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपनगर प्रमुख सुशिला मिश्र भट्ट, सशस्त्र प्रहरी ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी) दुर्गाप्रसाद भट्टरार्ई, एसपी विश्व अधिकारी विमानस्थल पुगेका थिए ।
उनीहरुले विमानबाट झर्ने वितिकै फुलमाला र खादा लगाएर भव्य स्वागत तथा बधाई समेत दिएका थिए। विमानस्थलको भिआईपी कक्षमा केही समय आराम गरेका प्रदेश प्रमुख जोशी बाहिर निस्कने वितिकै नेपाली काँग्रेसका नेता, कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ता लगायतले समेत फुलमाला र खादाले स्वागत गरेका थिए। प्रदेश प्रमुख आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।
विमानस्थलबाट सोझै जोशी एलएनचोकस्थित प्रदेश प्रमुखको निवासमा आएका थिए । त्यहाँ नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको भएपनि प्रदेश प्रमुख जोशीले नेता कार्यकर्ता लगायतलाई भेटघाट गर्नका लागि खुल्ला गरेका थिए ।
ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई देउवा सरकारले हटाएपछि सुदूरपश्चिम प्रदेश प्रमुखमा नेपाली काँग्रेसका पूर्व सांसद जोशी नियुक्त भएका हुन् । प्रदेश प्रमुख जोशीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।
बिहीवार तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । यस अघि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई ओली सरकारले ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएको थियो ।