लागुऔषधको कारोबारमा महिलाको बढी संलग्नता

धनगढी,२५ कार्तिक । सुरक्षाको दृष्टिकोणले संवेदनशील जिल्ला मानिने कैलालीमा लागुऔषधको कारोबार बढ्दो छ । यस्तो किसिमको लागुऔषध ओसारपसारमा महिलाको बढी संलग्नता बढ्न थालेको देखिन्छ । सीमापारिबाट सजिलै लागुऔषध भित्र्याइने गरेकाले यसको बिक्री वितरण तथा प्रयोगमा कमी आउन नसकेको हो । खुल्ला सिमानाका कारण यस्तो किसिमको लागु औषध कारोवार भारतबाट सजिलै नेपालतिर भित्र्याउने गरिएको छ ।

पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको पाइएको छ । त्यसैगरी प्रहरीले पनि लागुऔषध नियन्त्रण कार्यलाई प्रमुख प्राथमिकता दिएको छ । यस्तो किसिमको कडा गर्दा गर्दै पनि लागुऔषधको बिक्री वितरण र प्रयोगमा कमी आउन नसकेको प्रहरीको तथ्याङ्कले पुष्टि गर्दछ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कैलालीमा लागुऔषध सम्बन्धी ९१ मुद्दा परेको थियो । सो अपराधमा संलग्न भएका ६ महिला सहित १३२ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको छ ।

त्यसैगरी कैलाली जिल्लाबाट प्रहरीले ३४६ ग्राम ७८६ मिलिग्राम ब्राउन सुगर, नाइट्रोभेट दुई हजार ८६२ ट्याब्लेट, स्पास्मो एक हजार १२२ क्याप्सुल बरामद गरेको थियो । त्यस्तै सोही वर्ष ट्रमाडोल ५२० ट्याब्लेट, अफिम १५ ग्राम लगायत विभिन्न किसिमका लागुऔषध बरामद गरेको थियो ।

चालु आर्थिक वर्षको हालसम्म ३० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी चार महिला सहित ४६ जना पक्राउ परेका छन् । यो वर्ष हालसम्म २ ग्राम २०७ मिलिग्राम ब्राउन सुगर, ७६ ट्याब्लेट नाइट्राभेट, ३८७ क्याप्सुल स्पास्मो बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी पाँच किलो ६६ ग्राम चरेश पनि बरामद गरिएको छ । कोरोना महामारीका कारण नाका बन्द भएको बेला कञ्चनपुरको बेलौरी क्षेत्र भएर भारतबाट लागुऔषध ओसारपसार भएको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।

बन्दाबन्दी र नाका बन्दकोे क्रममा बेलौरी क्षेत्र हुँदै धनगढीसम्म लागुऔषध पुर्‍याउने गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । पछिल्लो समय नाका खुलिसकेकोले अब सबै क्षेत्रबाट ओसारपसार हुन सक्ने सम्भावना रहेको समेत उनले बताए । टीकापुर र भजनी क्षेत्र पनि लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको बताए । लागुऔषधको ओसारपसार, बिक्री वितरण र प्रयोगमा कमी नआएकाले नियन्त्रणका लागि सक्रियता बढाएको प्रहरीले जनाएको छ । लागुऔषध अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको आफुहरु त्यसको नियन्त्रणमा लागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

लकडाउनको बेला प्रहरीको ध्यान सुरक्षा व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा केन्द्रित रहेको थियो । लकडाउन खुलेपछि हामीले लागुऔषध सम्बन्धी अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

Loading...