कांग्रेस १५औँ महाधिवेशन : आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनका ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण गरिएको हो।

Navadurga sun

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। उम्मेदवारी दिन चाहने प्रतिनिधिले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीमार्फत निर्धारित शुल्क बुझाएपछि मनोनयन फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार आज दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको पद थप गरिएको छ। अब उपसभापतिको संख्या चार पुगेको छ। त्यस्तै महामन्त्रीको संख्या तीन पुर्‍याउँदै कम्तीमा एक जना महिला महामन्त्री अनिवार्य गरिएको छ।

यसैगरी दुई खुला सहमहामन्त्रीको पद थप गरिएको छ। यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो।

कांग्रेसका अनुसार यसपटक महाधिवेशन प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेकाले त्यसैअनुसार केन्द्रीय कार्यसमिति र पदाधिकारीको आकारसमेत विस्तार गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...