काठमाडौं- गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने बताएका हुन्।

उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।


‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले लेखेका छन्।
गृहमन्त्री गुरुङका अनुसार राज्यका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्छ।
उनले राज्यको गोपनीयता र संवेदनशील सूचनाको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याउने स्पष्ट पारेका छन्।
यसैबीच, संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको तथा संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।
गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई उक्त घटनासँग जोडेर समेत हेरिएको छ।
