बझाङ- बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार बिहान करिब १० बजे सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो। दुर्घटनामा सुर्मा गाउँपालिका–४ का २७ वर्षीय जिप चालक कुन्दन बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दौलिचौरबाट चैनपुरतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा जयपृथ्वी नगरपालिका–८ की २५ वर्षीया विपना बोहरा र भारतको कलकत्ता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन्।
घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ।
जिप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
