संसदीय समितिको टोलीद्धारा दार्चुला–तिकंर सडकको निरीक्षण





दार्चुला, १२ कार्तिक- संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीले महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको अनुगमनमा आएको छ। शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समितिका सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएको हो।दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले टोली अहिले ब्यास गाउँपालिकाको छाङरुबाट सुन्सेरा हुँदै खलंगा फर्किएको बताए।
टोली नेपाली सेनाले निर्माण गरिरहेको सडकको निरीक्षणमा आएको बताइएको छ। सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुसंग भेट गरेर टोली आजै बझाङको चैनपुर, खप्तड हुँदै साँझ सुर्खेत फर्किने कार्यक्रम रहेको बताइएको छ। समितिको टोलीले तिंकर सडकको अनुगमन र ब्यास गाउँपालिका–१ छाङरुका स्थानीयसँग विविध विषयमा छलफल गरेको बताइएको छ।
छाङरुबाट फर्किदा ब्यास गाउँपालिकास्थित सुन्सेरामा नेपाली सेनाको ब्यारेकबाट सडक निरीक्षण गरिएको छ। एक सय ३४ किलोमिटर लामो दार्चुला–तिंकर सडकको ८७ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोलिरहेको छ।
गत बर्ष सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारले गरेको निर्णय अनुसार सडकमा चालु आर्थिक बर्षबाट सेनाले काम थालेको थियो। हालसम्म खलंगादेखि सुन्सेरासम्मको ४३ किलोमिटर सडकमा सडक आयोजनाले ट्र्याक खुलाएको छ।



