गोदावरीमा शहीद भीमदत्त पन्तको शालिक अनावरण
शहीदका आदर्श नयाँ पुस्तासम्म पुर्याउनुपर्छः नगर प्रमुख भट्ट
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५, गेटास्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक विशेष समारोहका बीच अनावरण गरिएको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शालिक अनावरण गर्दै शहीद भीमदत्त पन्तको त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान नेपाली इतिहासका लागि सदैव प्रेरणादायी रहने बताए। उनले शहीदहरूको सम्मान औपचारिकतामा मात्र सीमित नराखी उनीहरूको विचार, आदर्श र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको धारणा व्यक्त गरे।

नगर प्रमुख भट्टले भने, “हामीले हाम्रो भूमि र लोकतान्त्रिक आन्दोलनका महान् योद्धा शहीद भीमदत्त पन्तप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको शालिक अनावरण गरेका छौँ। उहाँले राष्ट्र र जनताका लागि पुर्याउनुभएको योगदान सधैँ प्रेरणाको स्रोत रहनेछ। शहीदका आदर्श र बलिदानलाई नयाँ पुस्तासम्म पुर्याउनु हामी सबैको साझा दायित्व हो। सत्य, न्याय, समानता र जनसेवाको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र जिम्मेवार गोदावरी निर्माणमा सबै नगरवासी एकजुट हुनुपर्छ।”
शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहका अनुसार स्थानीय इतिहास तथा राष्ट्रिय विभूतिको सम्मान गर्दै शहीद भीमदत्त पन्तको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले शालिक निर्माण गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शहीद पन्तको योगदान स्मरण गर्दै शालिक निर्माणलाई ऐतिहासिक तथा प्रेरणादायी पहलका रूपमा स्वागत गरेका छन्।
