दार्चुला- सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनीले प्रवर्द्धन गरेको यो आयोजना अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत मार्मा गाउँपालिकामा अवस्थित छ।
आयोजनाले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ। डिजाइन परिवर्तन तथा संरचना स्थानान्तरणका कारण हुन सक्ने वातावरणीय प्रभावको अध्ययनका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (PPA) र वित्तीय व्यवस्थापनसमेत सम्पन्न भइसकेको छ।

आयोजनाबाट वार्षिक करिब १८५.६२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादित विद्युत् बलाच सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। करिब रु ६ अर्ब २३ करोड लागत अनुमान गरिएको यो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
