यातायात मजदुरले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनको माग

धनगढी- सुदूरपश्चिमका यातायात मजदुरहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू गर्न तथा सबै मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउन माग गरेका छन्। सरकारले मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मजदुरहरूले असन्तुष्टि जनाएका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द ले मजदुरहरूले अझै न्यूनतम पारिश्रमिक, बीमा तथा सामाजिक सुरक्षाको सुविधा नपाएको गुनासो गरे। उनले यातायात क्षेत्रमा कार्यरत मजदुर र उनीहरूको परिवारको सुरक्षाका लागि सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक रहेको बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै, जितबहादुर मल्ल ले यातायात क्षेत्रसहित सबै क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने धारणा राखे। कोषमा आबद्ध हुँदा मजदुर र व्यवसायी दुवैलाई दीर्घकालीन लाभ पुग्ने भएकाले यसको कार्यान्वयन अनिवार्य हुनुपर्ने उनको भनाइ थियो।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राई ले चालक तथा सहचालकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित नगरी यातायात क्षेत्र सुधार सम्भव नहुने बताए। उनले मजदुर र मालिक दुवैले नियमित रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने तथा यातायात नीति परिमार्जन, सडक सुरक्षा नीति लागू र व्यवहारिक सुधार आवश्यक रहेको उल्लेख गरे।

मजदुर नेतृत्वले यातायात क्षेत्रमा कार्यरत मजदुर अझै असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको बताएका छन्। उनीहरूले न्यूनतम पारिश्रमिक कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता तथा सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा ढुवानी व्यवसायी खगेश्वर बोहरा ले आफ्नै संस्थाबाट सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा डम्मर पन्त, टेकराज जोशी तथा पदम सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Loading...