कैलालीमा लागुऔषध, दुर्घटना र ट्राफिक उल्लंघन बढ्दो: प्रहरीको कडाइ

अत्तरिया- कैलाली जिल्लामा लागुऔषध नियन्त्रण, अवैध मदिरा रोकथाम र सवारी दुर्घटना व्यवस्थापन प्रहरीका लागि प्रमुख चुनौती बन्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वैशाख महिनामा मात्रै लागुऔषध सम्बन्धी ५८ मुद्दा दर्ता भएका छन् भने १०० जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २ महिला र ९८ पुरुष रहेका छन्। उनीहरूको साथबाट ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन, २० ग्राम ३१० मिलिग्राम चरेश र ४४ ग्राम ९७० मिलिग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

Navadurga sun

यसै अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ हजार ५ सय ६२ लिटर तयारी घरेलु मदिरा तथा ६ हजार २ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ।

यता, वैशाख महिनामा कैलालीमा ९५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन्। घटनापछि प्रहरीले १६० जनाको सकुशल उद्धार गरेको जनाएको छ। प्रहरीका अनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका हुन्।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कडाइ गर्दै प्रहरीले १ हजार ३ सय ७५ वटा सवारी साधन कारबाही गरेको छ। उक्त कारबाहीबाट ११ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्न, लागुऔषध तथा अवैध मदिरा नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्न अभियानलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...