

अत्तरिया- अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलाई एनएमबी बैंक अत्तरिया शाखाले ५ लाख रुपैयाँ बराबरको ६० सेट मेटल डेक्सबेन्च फर्निचर हस्तान्तरण गरेको छ ।


आज शुक्रबार आयोजित कार्यक्रममा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सहयोग प्रदान गरेको हो ।



हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका सिनियर एरिया म्यानेजर अमन जोशीले यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनहरूमा पनि विद्यालय लगायत आवश्यक क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सहयोगलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दत्त भण्डारीले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय आफ्नो गौरवपूर्ण इतिहास निर्माणको यात्रामा अघि बढिरहेको बताए । उनले विभिन्न संघसंस्था तथा व्यक्तिहरूसँग सहकार्य गर्दै विद्यालयको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गरे ।
अध्यक्ष भट्टराईले विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोग र समन्वयलाई प्रभावकारी बनाइने बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै खेलकुद क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिँदै निकट भविष्यमा दक्ष खेल प्रशिक्षक ल्याउने तयारी भइरहेको बताए ।
साथै उनले आगामी आर्थिक वर्षमा विद्यालयमा अध्ययनरत अनुशासित, चरित्रवान तथा विपन्न विद्यार्थीहरूका लागि झोला, ड्रेस, कपी–किताब लगायत आवश्यक छात्रवृत्ति व्यवस्थामा सहयोग गरिदिन बैंकसँग अनुरोध गरेका छन् ।

