दुर्गा लक्ष्मी नमूना माविमा १२ कोठे अत्याधुनिक भवनको शिलान्यास

अत्तरिया- अत्तरियास्थित दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा निर्माण हुन लागेको १२ कोठे तीनतले अत्याधुनिक विद्यालय भवनको बुधबार विधिवत् शिलान्यास गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको शिलान्यास नगर प्रमुख विरेन्द्र भट्टले गरेका हुन्।

Navadurga sun

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर बढ्दै गएकाले नयाँ भवन अत्यन्त आवश्यक रहेको बताए। उनले भवन निर्माणपछि पठनपाठन अझ व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दत्त भट्टराईले विद्यालयमा पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै कक्षाकोठा अभाव हटाउन भवन महत्वपूर्ण बन्ने बताए। उनले सुदूरपश्चिमका पहाडी जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रावास निर्माणका लागि समेत पहल भइरहेको जानकारी दिए। उनका अनुसार शिक्षा मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन इकाईले करिब १० करोड रुपैयाँ बराबरको आवासीय भवन निर्माणमा सहयोग गर्ने आश्वासन दिएको छ।

विद्यालयका प्रधानाध्यापक विर सिंह महताले करिब ६ करोड रुपैयाँ लागतमा अत्याधुनिक भवन निर्माण हुन लागेको जानकारी दिए। उनका अनुसार विद्यालयमा हाल ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सीमित कक्षाकोठाका कारण पठनपाठनमा समस्या हुँदै आएको अवस्थामा नयाँ भवनले शैक्षिक व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ।

भवन निर्माणका लागि ए.एम.–देभारी जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरिएको छ। उक्त कम्पनीसँग दाङ, रोल्पा, बाँके, सुर्खेत र कैलालीका पाँच विद्यालय भवन निर्माणका लागि कुल १८ करोड ३५ लाख ८६ हजार २४३ रुपैयाँमा सम्झौता भएको बताइएको छ।

दुर्गा लक्ष्मी नमूना माविको भवन निर्माण सम्झौता वैशाख २३ गते गरिएको थियो भने निर्माण अवधि १८ महिना निर्धारण गरिएको छ। विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनले अत्तरियासहित सुदूरपश्चिम क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...