गोदावरी नगरपालिकामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण प्रक्रिया तीव्र

अत्तरिया- गोदावरी नगरपालिका का विभिन्न वडामा विगत १० वर्षदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुम्बासी नागरिकहरूका लागि जग्गाको निस्सा तथा चारकिल्ला विवरण संकलन गरिसकेका व्यक्तिहरूको नामावली प्रकाशन गरिएको छ। नगरपालिकाले यथाशीघ्र लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित सूचीमा नाम समावेश नभएका व्यक्तिहरूलाई तत्काल सम्बन्धित वडा कार्यालयमा निवेदन दिई आफ्नो जग्गाको लगत दर्ता गराएर लालपुर्जा प्राप्तिका लागि पहल गर्न अनुरोध गरिएको छ। वडाहरूले पनि नगरपालिकाको निर्देशनअनुसार लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाइरहेका छन्।

Navadurga sun

यो कदम यहाँका स्थानीय बासिन्दाका लागि स्वागतयोग्य तथा न्यायोचित भएको बताइएको छ। विशेषगरी वडा नं. ४ मा नाम छुटेका वा विवरण त्रुटिपूर्ण भएका व्यक्तिहरूले निवेदन दिनेको भीड लागेको छ।

वडा नं. ४ का कार्यवाहक वडाध्यक्ष शेरबहादुर घर्ती का अनुसार नाम छुटेका तथा गलत विवरण भएका व्यक्तिहरूले वैशाख ३० गतेसम्म निवेदन दिन सक्नेछन्। यद्यपि नगरपालिकाको सिफारिसमा केही दिन म्याद थप हुन सक्ने उनले जानकारी दिए।

उनले अव्यवस्थित बसोबासी तथा सुकुम्बासीमध्ये निस्सा लिनेको संख्या २४१७ पुगेको बताए। प्राविधिक त्रुटि तथा नाम छुटेका कारण यो संख्या अझै बढ्न सक्ने जनाइएको छ।

नगरपालिकाले लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाएको कार्यको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...