

डोटी- डोटी जिल्लामा एक सातादेखि पेट्रोल अभाव हुँदा जनजीवन प्रभावित भएको छ। नियमित आपूर्ति अवरुद्ध भएपछि यातायात सेवा, बजार गतिविधि र दैनिक उपभोगका कामहरूमा प्रत्यक्ष असर परेको छ।


जिल्लामा रहेका दुई पेट्रोल पम्पले आवश्यक मात्रामा पेट्रोल उपलब्ध गराउन नसक्दा सवारी साधन प्रयोगकर्ताहरू बिहानैदेखि लामबद्ध हुन बाध्य भएका छन्। कतिपय दिन पेट्रोल नै नआउँदा सेवाग्राहीहरू निराश भएर फर्किनुपर्ने अवस्था समेत देखिएको छ। विशेषगरी मोटरसाइकल प्रयोगकर्ताहरू बढी प्रभावित भएका छन्, जसले कार्यालय, विद्यालय तथा अन्य अत्यावश्यक काममा जान समस्या भोगिरहेका छन्।


पेट्रोल अभावका कारण सार्वजनिक यातायात सेवा समेत प्रभावित भएको छ। सवारी साधन कम चल्न थालेपछि यात्रुहरूले लामो समय कुर्नुपर्ने अवस्था आएको छ भने केही स्थानमा भाडादर वृद्धि भएको गुनासो पनि आएको छ। ग्रामीण क्षेत्रबाट सदरमुकाम आवत–जावत गर्ने यात्रुहरू झनै समस्यामा परेका छन्।

यस्तै, बजारमा दैनिक उपभोग्य वस्तुहरूको ढुवानीमा समस्या उत्पन्न हुँदा व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ। व्यवसायीका अनुसार सामान समयमा नआउँदा बिक्री घट्नुका साथै उपभोक्ताले मूल्यवृद्धिको असर भोग्नुपरेको छ।
यसैबीच, स्थानीय अटो व्यवसायी लक्ष्मण माझीले धनगढीबाट पेट्रोल मगाएर सेवा सञ्चालन गरिरहेको बताएका छन्। उनले वैकल्पिक उपाय अपनाएर नागरिकलाई सेवा दिइरहेको भए पनि लागत भने बढेको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार पेट्रोल अभाव चाँडै समाधान हुने अपेक्षा गरिएको छ। उनले तेलको ट्यांकर आइसकेको र भोलिसम्म समस्या समाधान हुने बताएकी छन्।
नेपाल आयल निगम डोटी कार्यालयकी प्रमुख उर्मिला गिरीले भने रकम अभावका कारण ढुवानी भएर आएको पेट्रोल वितरण हुन नसकेको बताएकी छन्। उनका अनुसार आवश्यक रकम सुनिश्चित भएपछि मात्र पेट्रोल पम्पमा आपूर्ति गरिनेछ।





