

अत्तरिया- सृजनशील युवा क्लबले आयोजना गरेको एक औपचारिक कार्यक्रममा सांसद खेमराज कोइरालालाई गोदावरी नगरपालिका–१, अत्तरियास्थित जित्तलपुर मुक्त कमैया शिविरका बासिन्दाले आफ्ना विविध समस्या अवगत गराएका छन्।



शिविरकी स्थानीय बासिन्दा फुलमती डँगौरा थारुले बस्तीमा बसोबाससम्बन्धी आधारभूत समस्या अझै समाधान हुन नसकेको गुनासो गरिन्। उनका अनुसार बसोबासका लागि जग्गा व्यवस्थित नभएको र सानो घरबास जमिन भए पनि ‘सेतो पुर्जा’ मात्र भएकाले ‘रातो पुर्जा’ कसरी बनाउने भन्नेमा अन्योल कायम छ।


त्यसैगरी, बस्तीमा खानेपानीको उचित व्यवस्था नहुँदा नलको पानी पिउन बाध्य भएको उनले बताइन्। नाला तथा ढल निकासको व्यवस्था नभएकाले बर्खाको समयमा बस्ती तालजस्तै हुने गरेको समस्या पनि उनले औंल्याइन्।
आफूहरूलाई ‘कमैया’ भनेर विभेद गरिएको अनुभूति हुने गरेको उल्लेख गर्दै नगरपालिकामा पटक–पटक जाँदा पनि स्पष्ट समाधान नदिई फर्काइने गरेको आरोप उनले लगाइन्। बस्तीको समग्र व्यवस्थापन तथा विकासका लागि आवश्यक पहल गरिदिन उनले सांसद कोइरालासँग आग्रह गरिन्।





