

धनगढी- धनगढीमा अवाञ्छित गतिविधि भइरहेको गुनासोपछि प्रहरीले शुक्रबार विभिन्न होटलमा छापा मार्दै ३० जनालाई नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार १७ जना महिला र १३ जना पुरुषलाई पक्राउ गरिएको हो।



प्रहरीले स्थानीयको गुनासोका आधारमा होटल सञ्चालक तथा त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। मिलनचोकस्थित कर्णाली एण्ड लजबाट सञ्चालक र स्टाफसहित ८ जना पक्राउ परेका छन्।
यसैगरी बसपार्कस्थित एभरेस्ट होटल, एलएनचोक नजिकको प्रिन्स होटल, क्याम्पस रोडको एएम एण्ड ए होटल, ब्ल्याक स्टोन कटेज र सम्झना होटलबाट पनि महिला तथा पुरुषहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू हाल प्रहरी नियन्त्रणमा रहेका छन् र उनीहरूमाथि कानुनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





