

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक कविता महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव यही वैशाख १९ गते शनिबार धनगढीमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ।


महोत्सवका लागि केही हप्ता अघि सूचना प्रकाशन गर्दै सुदूरपश्चिमका कविहरूलाई कविता पठाउन आह्वान गरिएको थियो। प्राप्त एक सयभन्दा बढी कवितामध्ये ३५ कविता प्रतियोगिताका लागि छनोट गरिएको जानकारी दिइएको छ।



प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रम धनगढी उपमहानगरपालिका–उत्तरबेहडीस्थित ‘होम टेम्पल रिसोर्ट’को सभाकक्षमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। कार्यक्रममा क्षेत्रका कवि, कलाकार, साहित्यप्रेमी तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
यस अवसरमा सुदूरपश्चिमका प्रतिष्ठित कविहरूका रचना वाचनका साथै सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। प्रतिष्ठानको स्थापना पश्चात् यो तेस्रो प्रादेशिक कविता महोत्सव २०८३ आयोजना हुन लागेको हो।





