

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा वैशाख १७ गतेदेखि सुरु हुने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी बुधबार पत्रकार सम्मेलन मार्फत जनाइएको छ । महोत्सव वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।


बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन समिति तथा बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन भोलि बिहान ११ बजे गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि बुढीतोला बजार क्षेत्रमा प्रभातफेरी आयोजना गरिनेछ ।



महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर, चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका संयोजक हरि भट्टराईले जानकारी दिएका छन् ।
पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ तोकिएको छ ।
आयोजकका अनुसार महोत्सव आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवर्द्धनमा केन्द्रित हुनेछ । मेलामा बुढीतोलाको मौलिकता झल्काउने सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन तथा घरेलु उत्पादनका स्टलहरू मुख्य आकर्षणका केन्द्र बिन्दुका रुपमा रहनेछन् ।
सल्लाहकार समितिका सदस्य अशोक मल्लले यस महोत्सवले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।





