


धनगढी- सुदूरपश्चिम प्रदेशमा औलो (मलेरिया) सङ्क्रमण पुनः बढ्न थालेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता र चुनौती थपिएको छ। औलो निवारणको लक्ष्य नजिक पुगेको अवस्थामा संक्रमण फेरि वृद्धि हुनु चिन्ताजनक मानिएको छ। नेपालले सन् २०३० सम्म स्थानीय औलो शून्यमा झार्ने लक्ष्य लिएको भए पनि पछिल्लो अवस्थाले उक्त लक्ष्यप्राप्ति कठिन बन्दै गएको संकेत देखाएको छ।


सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म ३८७ जनामा औलो पुष्टि भएको छ। तीमध्ये ३७३ आयातित र १४ स्थानीय (इन्डिजिनस) केस रहेका छन्। यसले औलोको मुख्य स्रोत बाह्य मुलुकबाट आएको संक्रमण भए पनि स्थानीय स्तरमै देखिन थालेको संक्रमण थप जोखिमपूर्ण रहेको देखाउँछ।


स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार हालै विभिन्न स्थानीय तहमा १५ जना स्थानीय औलोका बिरामी फेला परेका छन्। डडेलधुरा, बैतडी, कञ्चनपुर र कैलालीका विभिन्न स्थानमा स्थानीय संक्रमण पुष्टि भएको छ।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी कैलालीमा २०४, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा ८ र दार्चुलामा २ जना संक्रमित रहेका छन्। सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा बढी केस देखिनुले भारतसँगको खुला सीमा प्रमुख जोखिमका रूपमा रहेको अधिकारीहरू बताउँछन्।

प्रजातिगत रूपमा ‘प्लाज्मोडियम भाइभ्याक्स’का ३२८, ‘प्लाज्मोडियम फाल्सिपेरम’का ५४, ‘प्लाज्मोडियम ओभल’का ३ र ‘मिक्स इन्फेक्सन’का २ बिरामी देखिएका छन्। विशेषगरी ओभल प्रजातिका केस देखिनु बिरामीहरू अफ्रिकी मुलुकबाट आएको हुन सक्ने अनुमान गरिएको छ।
औलो पुनः बढ्नुका कारणहरूमा आयातित केसको समयमै पहिचान नहुनु, सीमित स्रोतसाधन, जलवायु परिवर्तनका कारण लामखुट्टेको विस्तार तथा प्रभावकारी नियन्त्रण अभावलाई प्रमुख मानिएको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका सुरक्षाकर्मी तथा भारतबाट फर्किएका श्रमिकमा आयातित औलो बढी देखिने गरेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले जानकारी दिए।
चुनौतीका बाबजुद औलो नियन्त्रणका लागि प्रदेशमा विभिन्न पहलहरू अघि बढाइएको छ। कीट विज्ञान प्रयोगशालामार्फत लामखुट्टे अध्ययन, कीटनाशक परीक्षण, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।
स्वास्थ्य विज्ञहरूले आयातित केसको कडाइका साथ निगरानी, सीमामा स्वास्थ्य जाँच सुदृढीकरण, स्थानीय तहमा सक्रिय खोजपड्ताल र जनचेतना विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै जलवायु परिवर्तनलाई ध्यानमा राख्दै आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उनीहरूको सुझाव छ।
स्वास्थ्यकर्मीहरूका अनुसार झुलको प्रयोग, पानी जम्न नदिनु, लामखुट्टेको टोकाइबाट बच्नु र ज्वरो आएमा तुरुन्त परीक्षण गराउनु औलो नियन्त्रणका प्रभावकारी उपाय हुन्।
हाल नेपाल औलो निवारण उन्मुख अवस्थामा रहेको छ। पछिल्लो १० वर्षमा स्थानीय औलोका बिरामी करिब ९० प्रतिशतले घटेका छन्। देशभर हाल १,१६४ जना औलोका बिरामीमध्ये ३९ स्थानीय र १,१२४ आयातित रहेका छन्। तर समयमै प्रभावकारी कदम चाल्न नसके अवस्था गम्भीर स्वास्थ्य संकटमा रूपान्तरण हुन सक्ने चेतावनी दिइएको छ।





