अत्तरिया बजारमा व्यापक बजार अनुगमन, म्याद नाघेका सामग्री जफत

अत्तरिया- कैलालीको अत्तरिया बजार क्षेत्रमा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै व्यापक बजार अनुगमन गरिएको छ। गोदावरी नगरपालिका ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी सँगको सहकार्यमा आइतबारदेखि औपचारिक रूपमा अनुगमन अभियान सुरु गरेको हो।

नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया को संयोजकत्वमा गरिएको टोलीले अत्तरिया बजारका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा छड्के जाँच गरेको थियो। अनुगमनका क्रममा म्याद नाघेका तथा मानव स्वास्थ्यका लागि हानिकारक वस्तुहरू फेला परेपछि तत्काल जफत गरिएको नगरपालिकाले जनाएको छ।

Navadurga sun

उपप्रमुख रोकायाले उपभोक्ता अधिकार संरक्षण ऐनअनुसार नगरपालिकाले नियमित रूपमा अनुगमन गर्दै आएको बताउँदै यो अभियानलाई अझ सशक्त बनाइने जानकारी दिइन्। उनका अनुसार अनुगमन अत्तरिया बजारमा मात्र सीमित नरही स्याउले, गेटा लगायत अन्य बजार क्षेत्रमा पनि क्रमशः विस्तार गरिनेछ।

उनले खाद्य वस्तुको गुणस्तरसँगै व्यवसाय दर्ता, नवीकरण तथा कानुनी मापदण्डको अवस्थाबारे पनि सूक्ष्म रूपमा जाँच गरिएको उल्लेख गरिन्। मुख्य बजारसँगै भित्री गल्ली तथा टोलका साना पसलहरूलाई समेत अनुगमनको दायरामा ल्याइने बताइएको छ।

आइतबार गरिएको अनुगमनमा ३८ वटा पसलहरूमा जाँच गरिएको थियो। सो क्रममा करिब ७० हजार १८० रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य सामग्रीहरू फेला परेको आर्थिक विकास शाखाका अधिकृत लोक बहादुर खड्का ले जानकारी दिए। उनका अनुसार पछिल्ला वर्षहरूको तुलनामा व्यवसायीहरूमा केही सुधार देखिए पनि अझै कडाइ आवश्यक रहेको छ।

जफत गरिएका सबै सामग्रीहरू नगरपालिकाको वडा नं. ३ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर सुरक्षित रूपमा नष्ट गरिएको छ। नगरपालिकाले यस्तो अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्ने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...