


कैलाली- नेपाल सरकारले यात्रुले ल्याउने सामानमा भन्सारसम्बन्धी पुरानै व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न थालेको छ। सरकारले २०८२ साल जेठ १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल अनिवार्य गरिएको हो।


भन्सार महसुल ऐन, २०८१ को दफा १३ (३) अनुसार सरकारले हवाई तथा स्थलमार्गबाट यात्रुले ल्याउन र लैजान पाउने सामानको सूची निर्धारण गर्दै आएको छ। सोही अधिकार प्रयोग गर्दै जारी गरिएको सूचनामा स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई विशेष सुविधा नदिइने उल्लेख गरिएको छ।



सूचनाअनुसार एक सय रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भने भन्सार नलाग्न सक्नेछ। तर सोभन्दा बढी मूल्यका सामान ल्याएमा अनिवार्य रूपमा महसुल तिर्नुपर्नेछ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले यो नयाँ व्यवस्था नभई पहिलेदेखिकै नियम भएको स्पष्ट पारे। उनका अनुसार विगतमा कार्यान्वयनमा केही सुस्तता भए पनि अहिले कडाइका साथ लागू गर्न थालिएको हो।
सरकारले राजस्व चुहावट नियन्त्रण, आन्तरिक बजारको प्रवर्द्धन तथा सीमापारिबाट सस्तो सामान ल्याउने प्रवृत्ति निरुत्साहित गर्न यो कदम चालेको जनाएको छ। यसका लागि भन्सार प्रशासन र सुरक्षा निकायहरू मिलेर संयुक्त रूपमा काम गरिरहेका छन्।
यद्यपि, सीमा क्षेत्रका बासिन्दाले भने यसले दैनिक उपभोग्य वस्तु किन्न समस्या हुने बताएका छन्। भारततर्फका बजारमा सस्तोमा सामान पाइने हुँदा अहिलेको कडाइले उनीहरू प्रभावित भएका छन्। सरकारले भने राजस्व संकलन बढाउने र चुहावट रोक्ने उद्देश्यले कानुनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न खोजिएको जनाएको छ।





