


लक्ष्मी भट्ट/अत्तरिया- अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा आज शनिबार एक कार्यक्रमका बिच आधारभूत पुस्तकालय व्यवस्थापन तालिम उद्घाटन तथा “प्रतिभा मुखपत्र” को छैठौं अङ्क विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।


उक्त कार्यक्रम केशर पुस्तकालय, केशरमहल काठमाडौँ र प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम गोदावरी नगरपालिकाको सहयोग तथा सामुदायिक पुस्तकालय संघको संयोजनमा आयोजना गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका थिए भने अध्यक्षता प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीले गर्नुभएको थियो । कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र ऐर, नगर प्रवक्ता गोपाल दत्त भट्ट, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला तथा नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्र प्रसाद पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव धर्मसिंह कुँवरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्रराज शर्माले प्रस्तुत गर्नुभयो ।
आजदेखि सुरु भएको उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुने छ। तालिममा विद्यालय तथा क्याम्पसका पुस्तकालयकर्मीहरूको सहभागिता रहनेछ। तालिम अन्तर्गत पुस्तकालय सञ्चालन विधि, पुस्तक व्यवस्थापन, पाठकमुखी पुस्तक छनोट लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रमकै अवसरमा “प्रतिभा मुखपत्र” को छैठौं अङ्कसँगै पुस्तकालयको वार्षिक पात्रो समेत विमोचन गरिएको थियो। वक्ताहरूले पुस्तकले कला, साहित्य, भेषभूषा तथा संस्कृतिको संरक्षण गर्दै ज्ञान विस्तार गर्ने भएकाले पुस्तकालयमा गुणस्तरीय र उपयोगी पुस्तकहरूको आवश्यकता औँल्याए।
वक्ताहरूले विगतमा पुस्तकालयमा पुस्तक अभाव रहेको भए पनि अहिले पाठक अभाव देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे। साथै सामुदायिक पुस्तकालयहरू विभिन्न समस्याका कारण बन्द भइरहेका बेला प्रतिभा पुस्तकालय जस्ता सक्रिय संस्थाहरू राष्ट्रका लागि उदाहरणीय भएको उल्लेख गरे। पुस्तकालय केवल पुस्तक राख्ने स्थान नभई सेवा प्रदान गर्ने संस्था भएकाले पाठकको मागअनुसार पुस्तक व्यवस्थापन गर्नुपर्नेमा जोड दिइयो।

प्रमुख अतिथि वीरेन्द्र भट्टले स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजेट सीमित भए पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो। उहाँले यस्तो तालिमले संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष भूपेश जोशीले “प्रतिभा मुखपत्र” प्रकाशनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





